‘केही नेपाली हताहत हुन सक्छ, स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ|
इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सदनलाई जानकारी गराएका छन्।
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेको थियो।
इजरायलमा चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्र मन्त्री साउदले बताए।
यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएको उनले बताए।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। यो गाजा क्षेत्रनजिकै पर्दछ। यहाँ रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल छन्। तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी रहेको परराष्ट्र मन्त्री साउदले बताए। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले जानकारी गराए।
यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनले बताए |
प्रतिक्रिया
Array